परिचय तथा कार्यक्रमहरू

धरानमा सामुदायिक विकास

धरान नगरपालिकाले नगर क्षेत्रका विभिन्न समुदायको समुन्नत विकासका लागि समुदायमा आधारित विभिन्न क्रियाकलापहरू संचालन गर्दै आएको छ । गर्भवती महिला तथा बालबालिकाहरूको स्वास्थ्य उपचारका लागि मातृ शिशु स्वास्थ्य क्लिनिक संचालन, विपन्न वर्गका बाल बालिकाका लागि अनौपचारिक शिक्षा, युवाहरूका लागि स्वरोजगार शिक्षा तथा महिलाहरूका लागि सीप मूलक तथा आय मूलक तालीम कार्यक्रमहरू विभिन्न समुदायमा धरान नगरपालिकाले उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै बाल विकास केन्द्रहरूको स्थापना र संचालन, विद्यालयहरूको संचालन, स्वास्थ्य र सरसफाइका लागि जनचेतना अभिवृद्धि कार्यक्रमहरू, सुलभ शौचालयहरूको निर्माण जस्ता कार्यहरू पनि संचालन भई आएका छ ।

 

स‌चालनमा रहेका सामुदायिक कार्यक्रमहरू

शहरी बाल शिक्षा कार्यक्रम

सहयोगी संस्था
यूनिसेफ क्षेत्रीय कार्यालय विराटनगर

कार्यक्रमको उद्देश्य + लक्षित समूह
जोखिम परिस्थितिमा रहेका १० देखि १४ वर्ष उमेरका बालबालिकाहरू लक्षित समूहहरू हुन ।
घरेलु कामदार बालबालिकाहरू र सडक बालबालिकाहरू जो विद्यालय गएर पढ्न सक्दैनन् साथै पाउँदैनन् त्यस्ता बालबालिकाहरू लाई सहयोगी कार्यकर्ता मार्फत शिक्षा प्रदान गर्नु र साक्षर बनाउनु यो कार्यक्रमको उद्देश्य हो ।

कार्यक्रमको कार्यविधि
जोखिम परिस्थितिमा रहेका बालबालिकाहरू जो घरेलु कामदार सडक बालबालिका श्रमिकको रूपमा पहिचान गरी निजहरूलाई संकलन गरी एउटा समूहमा २० जनालाई मात्र तालिम प्राप्त सहयोगी कार्यकर्ताबाट दैनिक ३ घण्टाका दरले १० महिना सम्म बाल केन्द्रीय शिक्षण विधिले पठनपाठन गराइन्छ ।

उपलब्धि
निरक्षर बालबालिका पूर्ण साक्षर वन्ने छन् ।
स्वास्थ्य सरसफाइ वारे वातावरण बारे जान्ने छन् ।
सामाजिक पक्षका बारेमा बाल अधिकारको वारे थाहा पाउने छन् ।

 

समुदायमा आधारित वाल विकास केन्द्र

सहयोगी संस्था
यूनिसेफ क्षेत्रीय कार्यालय विराटनगर / जिल्ला शिक्षा कार्यालय, इनरुवा

कार्यक्रमको उदेश्य + लक्षित समूह
३-५ वर्ष उमेरका बालबालिकाहरू जो विपन्न समुदाय/परिवारमा रहेका छन् उनीहरू लक्षित बालबालिकाहरू हुन ।
लक्षित बालबालिकाहरूको चौतर्फी विकास (शारीरिक मानसिक तथा बौद्धिक भाषिक र सम्वेगात्मक विकास) गराउने साथै ५ बर्ष उमेर पुरा भए पछि बाल विकास केन्द्र पश्चात् प्राथमिक विद्यालयमा पठाउँदा सजिलै विद्यालय जाने बानी बसाउने यो कार्यक्रमको मुख्य उद्देश्य हो ।

कार्यक्रमको कार्यविधि
अभिभावक शिक्षा कार्यक्रम पश्चात् बालविकास केन्द्रको बारेमा जानकारी प्राप्त गरी त्यसको आवश्यकता महसुस गरी समुदायबाट माग भई आए अनुसार बाल विकास केन्द्रहरूको स्थापना गरिन्छ । त्यस्ता बाल विकास केन्द्रहरू संचालनका लागि अभिभावकहरू मध्येबाटै संचालक समितिको गठन गरी संचालन गरिन्छ । तालिम प्राप्त सहयोगी कार्यकर्ताद्वारा दैनिक ४ घण्टा संचालिन गरिन्छ । बाल विकास केन्द्र संचालनको केहि प्रतिशत खर्च स्थानीय समुदायले ब्यहोर्ने गर्दछ । २०६२ फागुन महिना सम्म धरान नगरका विभिन्न वडाहरूमा १९ वटा बाल विकास केन्द्रहरू संचालित छन् ।

उपलब्धि
बालबालिकाहरू समूहमा मिलेर बस्ने, सामूहिक काम गर्ने, साथीहरूलाई माया गर्ने, आफू जे गर्दछन् सोही सम्बन्धी गीत गाउने, नाच्ने र साधारण खेल खेल्ने जस्ता कृयाकलापहरू गर्न सक्दछन ।
त्यस्तै नडराई बोल्ने, सोधेको कुरा भन्न सक्ने, नजिकको प्रा‌. वि. स्कूलमा पढ्न गएपछि चनाखो र फुर्तिलो देखिनेछन् ।